This story is not available in English, so you are reading it in Nepali.
१७ कात्तिक, काठमाडौं । सरकारीकरण हुनुपर्ने जग्गा सट्टापट्टा गरी बिक्री गर्न मन्त्रिपरिषद्बाट अनुमति दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मोरङको रिजाल क्यानिङ एण्ड कम्पनीले पञ्चायतकालमा फलफूल खेतीका लागि हदबन्दी छुटमा पाएको १० बिघा १७ कट्ठा १० धुर जग्गा सर्तविपरीत प्रयोग गरेपछि सरकारले २०४८ सालमै जफत गर्ने निर्णय गरेको थियो ।
तर, २०६६ सालमा तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले उक्त जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो । अख्तियारका अनुसार तत्कालीन मन्त्री डा. रिजालले आफ्ना आफन्तको लाभ हुने गरी निर्णय अघि बढाएका थिए ।
सट्टापट्टा गरिएको जग्गाको मूल्य ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ रहेको भन्दै अख्तियारले सोही रकम बराबरको बिगो मागदाबी गरेको छ ।
यसअघि पनि पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
Comments
No comments yet. Comments appear once an editor has approved them.