Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Tuesday, November 3, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Politics News

सरकारविरुद्ध विपक्षी दल एकजुट बनाउँदै कांग्रेस, संसद् र सडकबाट प्रतिवाद गर्ने तयारी

सरकारविरुद्ध विपक्षी दल एकजुट बनाउँदै कांग्रेस, संसद् र सडकबाट प्रतिवाद गर्ने तयारी
Photo Onlinekhabar

This story is not available in English, so you are reading it in Nepali.

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका पछिल्ला गतिविधिविरुद्ध संसद् र सडक दुवैबाट सशक्त प्रतिवाद गर्ने रणनीतिसहित विपक्षी दलहरूलाई एकजुट बनाउन पहल थालेको छ ।

केन्द्रीय कार्यसमिति बैठकबाट सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने संकेत गरेको कांग्रेसले त्यसको भोलिपल्टै अन्य विपक्षी दलसँग साझा मोर्चा निर्माणको प्रयास अघि बढाएको हो ।

सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा हस्तक्षेप, कर्मचारीतन्त्रमा बढ्दो दबाब तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाउँदै कांग्रेसले विपक्षी दलहरूलाई एक ठाउँमा उभ्याउन खोजेको छ ।

यसैक्रममा सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसेको छ । बैठकले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको नेकपा नेता प्रमेश हमालले जानकारी दिए ।

‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद् बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौं,’ बैठकपछि हमालले भने ।

उनका अनुसार बैठकमा जनजीविका, राष्ट्रियता, लोकतन्त्र, संविधानमाथि उठेका प्रश्न, विपद्पछिको पुनर्निर्माण तथा जनताले भोगिरहेका समस्याबारे संसद्मा गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय उपनेता पद्मा अर्याल, नेकपाका संसदीय दलका नेता वर्षमान पुन, प्रमुख सचेतक युवराज दुलाल तथा राप्रपाका प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए । संसद् बाहिर रहेका दलका नेताहरूको पनि बैठकमा सहभागिता थियो ।

प्रेस स्वतन्त्रता र लोकतन्त्रको मुद्दामा साझा मोर्चा

कांग्रेस महामन्त्री उदयशमशेर राणाले सरकारका गतिविधिविरुद्ध साझा आवाज उठाउन विपक्षी दलहरूको साथ खोजिएको बताए । प्रेसमाथिको आक्रमण, अदालतमा हस्तक्षेप तथा कर्मचारीमाथि दबाब दिने गतिविधि लोकतान्त्रिक मूल्य र संविधानविपरीत भएकाले लोकतन्त्रमा विश्वास गर्ने सबै दल एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ ।

‘प्रेसमाथि आक्रमण, अदालतमा हस्तक्षेप र कर्मचारीहरूलाई बुलिङ गर्ने जस्ता गैरलोकतान्त्रिक गतिविधि हुन थालेपछि हामी सबै पार्टीले एउटै आवाज उठाउनुपर्छ,’ राणाले भने, ‘हामी संविधान र लोकतन्त्रमा विश्वास गर्छौं । त्यसैले संविधान र लोकतन्त्रको रक्षा गर्न सबैले संयुक्त रूपमा आवाज उठाउनुपर्छ ।’

उनले विपक्षी दलहरूको मोर्चाबन्दीलाई संसदीय लोकतन्त्रमा सामान्य अभ्यासका रूपमा व्याख्या गरे ।

अर्की महामन्त्री डा. डिला संग्रौलाले पनि लोकतान्त्रिक मूल्य–मान्यतामाथि संकट उत्पन्न भएकाले कांग्रेसले अन्य विपक्षी दललाई साथमा लिएर अघि बढ्न खोजेको बताइन् ।

‘लोकतन्त्रमाथि आक्रमण भइरहेको छ । लोकतान्त्रिक मूल्य–मान्यताहरू कमजोर हुँदै जाँदा नेपाली कांग्रेसले जहिले पनि नेतृत्व गरेर, सबै दललाई आह्वान गरेर अगाडि बढेको इतिहास छ,’ उनले भनिन्, ‘आज पनि परिस्थिति त्यस्तै छ ।’

सरकारलाई अब शंकाको सुविधा नदिने संकेत

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले कांग्रेसको पछिल्लो पहललाई प्रतिपक्षी भूमिकामा सशक्त रूपमा प्रस्तुत हुने संकेतका रूपमा व्याख्या गरेका छन् । विपक्षी दलहरूलाई साथमा लिएर कांग्रेसले संसद्मा प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्न खोजेको उनको विश्लेषण छ ।

‘यो कांग्रेसले प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट सन्देश हो,’ वाग्लेले भने ।

कांग्रेस नेताहरूले पनि सरकारविरुद्धको संसदीय संघर्षमा अन्य विपक्षी दललाई सहभागी गराउन खोजिएको बताएका छन् । पार्टीको १५औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी शंकर तिवारीले कांग्रेसले संसद्भित्रको लडाइँ एक्लै नभई अन्य विपक्षी दलको साथ लिएर अघि बढ्न चाहेको बताए ।

कांग्रेस सभापति गगनकुमार थापाले समेत सरकारका गतिविधि विधि र प्रक्रियाभन्दा बाहिर जान थालेपछि प्रतिरोध गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

आइतबार पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि सम्बोधन गर्दै थापाले सरकारको कार्यशैलीले सीमा नाघेको निष्कर्षमा कांग्रेस पुगेको उल्लेख गरेका थिए ।

‘सरकारले सीमा नाघ्छ भने त्यो बेलामा फेरि हामी चुप बस्दैनौं । हामी प्रश्न गर्छौं,’ थापाले भने, ‘आवश्यक पर्‍यो भने कांग्रेसले प्रतिवाद पनि गर्छ । आज त्यस्तै परिस्थिति आएको छ ।’

रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भएको सात महिनापछि कांग्रेसले सरकारी कदमविरुद्ध संगठित रूपमा प्रश्न उठाउन थालेको हो । विगतमा सरकारका कतिपय गतिविधिलाई शंकाको सुविधा दिँदै आएको कांग्रेस अब भने सरकारलाई छुट नदिने र विपक्षी दलहरूको सहकार्यमा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने रणनीतिमा अघि बढेको देखिन्छ ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.