This story is not available in English, so you are reading it in Nepali.
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विगतका कमजोरीको समीक्षा गर्दै संगठन सुदृढीकरण र जनताको विश्वास पुनः आर्जन गर्ने उद्देश्यसहित दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ।
शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गरेका हुन्। अभियान आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटनका क्रममा प्रचण्डले पार्टीका विगतका उपलब्धि र कमजोरीको समीक्षा नेताहरूले मात्र नभई जनताकै बीचमा पुगेर गर्नुपर्ने बताए। जनताको आलोचना र सुझाव सुनेर कमजोरी सच्याउँदै नयाँ संकल्पका साथ अघि बढ्न अभियान सुरु गरिएको उनको भनाइ छ।
नेकपाले जारी गरेको अपिलमा जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको तथा जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गरिएको छ। किसान, मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायसँगको सम्बन्ध सुदृढ गर्दै पार्टीलाई जनताको सेवामा केन्द्रित गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
अभियानका क्रममा केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन्। महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती तथा वैदेशिक रोजगारीका समस्याबारे गुनासा र सुझाव संकलन गरी सम्बन्धित सरकारी निकायमा पुर्याइने पार्टीले जनाएको छ।
सहसंयोजक माधवकुमार नेपालले अभियानमार्फत जनसरोकारका मुद्दा उठाउनुका साथै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रका विषयमा जनचेतना अभिवृद्धि गरिने बताए।
नेकपाले वर्तमान सरकार जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाउँदै महँगी, बेरोजगारी र युवा पलायनजस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ। अभियानसँगै सदस्यता नवीकरण, संगठनात्मक समायोजन र पार्टी एकताका बाँकी काम पूरा गरी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने योजना पनि पार्टीले अघि सारेको छ।
Read online: https://ujyaalotoday.com/en/article/kamajori-svikardai-nekapa-ko-duimahine-rashtriya-jagaran-abhiyan-suru
Comments
No comments yet. Comments appear once an editor has approved them.