Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Wednesday, October 28, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Nepal News

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि, बिहीबार रातिदेखि वर्षा र हिमपातको जोखिम

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि, बिहीबार रातिदेखि वर्षा र हिमपातको जोखिम

This story is not available in English, so you are reading it in Nepali.

काठमाडौँ, ११ कात्तिक। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने पूर्वानुमानसँगै सरकारले उच्च सतर्कता अपनाएको छ। बिहीबार रातिदेखि शनिबारसम्म देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात, मेघगर्जन र हावाहुरीको सम्भावना रहेकाले सम्बन्धित निकाय तथा सुरक्षा अंगलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार मौसम विज्ञान विभागको पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई सतर्क रहन भनिएको छ। विशेषगरी पहिलेदेखि नै जोखिम पहिचान भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन निर्देशन दिइएको उनले बताए।

मौसम प्रतिकूल हुन सक्ने भएकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा, पदयात्रा र पर्वतारोहणमा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

शुक्रबार र शनिबार मौसमको बढी असर पर्ने अनुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।

बिहीबारदेखि कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

शुक्रबार र शनिबार भने चक्रवातको प्रभाव तुलनात्मक रूपमा बढी देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। ती दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने पूर्वानुमान छ।

मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले वर्षा तथा हिमपात हुन सक्छ।

‘अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ उनले भनेकी छन्।

वर्षा र हिमपातका कारण हिमाली तथा पहाडी क्षेत्रमा जनजीवन, सडक यातायात र दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले मौसमको अद्यावधिक सूचना नियमित रूपमा हेर्न महाशाखाले आग्रह गरेको छ।

तीन दिन पदयात्रामा रोक

सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते तीन दिन पदयात्रामा नजान आग्रह गरेको छ।

चक्रवातको सम्भावित प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ। पदमार्ग अवरुद्ध हुने, यात्रा कठिन बन्ने र उद्धारमा समस्या आउन सक्ने भएकाले पर्यटक, पदयात्री तथा पर्वतारोहणमा जानेहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

यसअघि नै पदयात्रामा निस्किसकेका व्यक्तिलाई मौसम प्रतिकूल रहने अवधिभर सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

त्यस्तै, अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भावित बाढीको जोखिम भएका नदीकिनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र मौसमसम्बन्धी पूर्वसूचनालाई गम्भीरतापूर्वक लिन प्राधिकरणले अनुरोध गरेको छ।

भारतको तटीय क्षेत्रमा चक्रवातको जोखिम

भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ पश्चिम–मध्य बंगालको खाडीबाट आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ। बुधबार बिहानसम्म बापटला र विशाखापत्तनमबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवातका कारण तीव्र हावा र भारी वर्षाको जोखिम रहेको छ।

चक्रवातका बेला हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्ने र अधिकतम गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ।

तीव्र हावा र भारी वर्षाका कारण रुख ढल्ने, विद्युत्का खम्बा तथा कमजोर संरचनामा क्षति पुग्ने र तल्लो भूभागमा डुबान हुने जोखिम रहेकाले भारतका प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

दक्षिण तटीय रेलवेले अक्टोबर २७ र २८ मा सञ्चालन हुने ५३ वटा रेल सेवा रद्द गरेको छ। विशाखापत्तनम र विजयवाडा आउने–जाने उडानसमेत प्रभावित हुन सक्ने भन्दै एयर इन्डियाले यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ।

प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत जोखिममा रहेका समूहलाई सुरक्षित राख्ने र आवश्यक खाद्यान्न तथा राहत सामग्रीको व्यवस्था गर्ने तयारी गरिएको छ।

भारतका तटीय आन्ध्र प्रदेश तथा यनममा अक्टोबर २७ र २८ मा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। ओडिशामा अक्टोबर २८, छत्तीसगढमा अक्टोबर २८ र २९ तथा पूर्वी उत्तर प्रदेशमा अक्टोबर २९ मा पनि भारी वर्षाको सम्भावना औँल्याइएको छ।

विपद्का बेला यी नम्बरमा सम्पर्क गर्न सकिने

सम्भावित विपद्बाट सुरक्षित रहन मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।

विपद् वा आपत्कालीन अवस्था आइपरेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

  • मौसमसम्बन्धी जानकारी: ११५५
  • राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र: १२३४
  • नेपाल प्रहरी: १००
  • सशस्त्र प्रहरी बल: १११४
  • पर्यटक प्रहरी: ११४४

चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि यसको बाहिरी बादल तथा वायुमण्डलीय प्रणालीका कारण वर्षा र हिमपात हुन सक्ने भएकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका बासिन्दा, पर्यटक र यात्रुले सतर्कता अपनाउन आवश्यक देखिएको छ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.