Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Saturday, October 24, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Nepal News

बंगालको खाडीमा चक्रवाती आँधीको प्रभावः नेपालमा वर्षा र हिमपातको सम्भावना

बंगालको खाडीमा चक्रवाती आँधीको प्रभावः नेपालमा वर्षा र हिमपातको सम्भावना

This story is not available in English, so you are reading it in Nepali.

काठमाडौं । मनसुन बाहिरिएपछि खुलेको मौसम फेरि प्रभावित हुने संकेत देखिएको छ। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागले ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन’ जारी गर्दै उक्त अवधिमा मौसम बदली भई वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण पाक्न लागेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। त्यस्तै, उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण गर्नेहरूलाई पनि मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।

विभागका अनुसार पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै कात्तिक ९ गते चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् डेभिड ढकालका अनुसार विभागले उक्त प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ। चक्रवाती आँधीको प्रभाव, वर्षाको मात्रा र जोखिमबारे अहिले नै यकिन गर्न नसकिने भए पनि हिमाली जिल्लामा हिमपात हुन सक्ने सम्भावना छ।

‘धान काट्ने समय भएकाले वर्षाले धानबालीमा क्षति गर्न सक्छ,’ ढकालले भने, ‘मुख्यगरी कृषि, पर्वतारोहण र हिमाली क्षेत्रको पदयात्रामा असर पर्न सक्ने देखिन्छ।’

उनका अनुसार कात्तिक १० गतेसम्म वर्षाको सम्भावना न्यून रहे पनि त्यसपछि मौसममा बदली हुन सक्ने र कात्तिक ११ गतेदेखि वर्षा सुरु हुने सम्भावना छ।

सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै किसानलाई काटिसकेको धान सुरक्षित राख्न, काट्न बाँकी धानबालीको व्यवस्थापन गर्न तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसम पूर्वानुमान र आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.