Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Thursday, October 22, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Nepal News

आज महागौरी देवीको पूजा आराधना गरिँदै, नवरात्रको धार्मिक रौनक देशभर

durga mata

This story is not available in English, so you are reading it in Nepali.

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले बडादशैंअन्तर्गत नवरात्रको आठौँ दिन आज महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्दैछन्। आश्विन शुक्ल अष्टमीका दिन नवदुर्गामध्ये आठौँ स्वरूपकी देवी महागौरीको पूजा गर्ने धार्मिक परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार महागौरीलाई श्वेत वर्ण, सेतो वस्त्र धारण गरेकी र सेतो वृषभमाथि सवार देवीका रूपमा वर्णन गरिएको छ। देवी महागौरीको आराधना गर्नाले सुख, शान्ति, समृद्धि र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दशैंघर तथा पूजाकोठामा जमरा राखेर दुर्गा भवानीको पूजा आरम्भ गरिएको थियो। घटस्थापनाको दिन नवदुर्गाको पहिलो स्वरूप शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा आराधना गरिएको थियो।

नवरात्रको सातौँ दिन हिजो परम्पराअनुसार दशैंघरमा फूलपाती भित्र्याइएको थियो। फूलपाती भित्र्याउने परम्पराले बडादशैंको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने गर्दछ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गरी दुर्गा भवानीको आराधना गर्ने चलन छ। शक्ति, ऐश्वर्य, विद्या र समृद्धि प्राप्त हुने धार्मिक विश्वासका साथ भक्तजनहरूले नौ दिनसम्म विशेष पूजाआजा गर्ने गर्छन्।

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरेसँगै नवदुर्गाका नौवटै स्वरूपको आराधना सम्पन्न हुन्छ। शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नवदुर्गाका नौ स्वरूप हुन्।

नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजा गर्ने भक्तजनको चहलपहल बढ्ने गरेको छ। धार्मिक आस्था, परम्परा र सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाइने बडादशैंले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

नवरात्रको पूजा आराधनापछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यसरी नेपाली समाजमा बडादशैंलाई धार्मिक आस्था, पारिवारिक मिलन, आपसी सद्भाव र सांस्कृतिक निरन्तरताको पर्वका रूपमा १५ दिनसम्म मनाउने गरिन्छ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.