Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Sunday, October 25, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Nepal News

आज कोजाग्रत पूर्णिमा, बडादसैंलाई बिदाइ गर्दै महालक्ष्मीको पूजा गरिँदै

आज कोजाग्रत पूर्णिमा, बडादसैंलाई बिदाइ गर्दै महालक्ष्मीको पूजा गरिँदै

This story is not available in English, so you are reading it in Nepali.

८ कात्तिक, काठमाडौं । आज कोजाग्रत पूर्णिमा। बडादसैंको समापनका रूपमा मनाइने यस पर्वमा आज साँझ धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको दसैंको टीका र जमरा लगाउने क्रम आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासँगै समाप्त हुन्छ। यस दिन महालक्ष्मीको पूजा गरी जाग्राम बसेमा देवी लक्ष्मी घरमा प्रवेश गरेर धनधान्य र समृद्धि प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दसैंको टीका र जमरा लगाउन शास्त्रसम्मत मानिन्छ।

आज बिहान दसैंघरमा चढाइएका फूलप्रसाद र जमराका अवशेष नजिकैको नदी, तलाउ, पोखरी वा अन्य तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ। यससँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैं औपचारिक रूपमा समाप्त हुन्छ।

कोजाग्रत पूर्णिमापछि भोलिदेखि कात्तिक स्नान र आकाशदीप दान गर्ने प्रचलन सुरु हुन्छ। यसै दिनदेखि घरघरमा विशेष रूपमा तुलसी पूजा गर्ने परम्परा पनि प्रारम्भ हुन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गर्ने धार्मिक मान्यता छ।

कात्तिक स्नान गर्नेले यस अवधिमा मास, मुगी, मुसुरो, चना र भटमासलगायतका द्विदल अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ।

यसरी कोजाग्रत पूर्णिमासँगै बडादसैंलाई बिदाइ गर्दै नेपालीहरू तिहारको तयारीमा जुट्ने गर्छन्।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.