Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Wednesday, October 28, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Nepal News

अब काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकता प्रतिलिपि लिन सकिने

अब काठमाडौं उपत्यकाबाटै अन्य जिल्लाका नागरिकता प्रतिलिपि लिन सकिने

This story is not available in English, so you are reading it in Nepali.

काठमाडौं — अन्य जिल्लाबाट नागरिकता लिएका नेपाली नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन्। नागरिकताको प्रतिलिपि लिनकै लागि नागरिकता जारी भएको जिल्लासम्म पुग्नुपर्ने बाध्यता हटाउँदै सरकारले उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयमार्फत सेवा उपलब्ध गराउने व्यवस्था गरेको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको हो। गृह मन्त्रालयले कात्तिक ९ गते जारी गरेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराउन लागिएको हो।

तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसार सेवा

नयाँ व्यवस्थाअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट प्रदेशअनुसारका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन पाउनेछन्। त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका नागरिकले सेवा प्राप्त गर्न सक्नेछन्।

हराएको, नष्ट भएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा प्रतिलिपि

आगलागीमा परी नागरिकता नष्ट भएको, पानीले भिजेर प्रयोग गर्न नमिल्ने भएको, हराएको वा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा सम्बन्धित नागरिकले प्रतिलिपिका लागि निवेदन दिन सक्नेछन्। अन्य कारणले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थाका नागरिकले पनि तोकिएको कार्यालयबाट सेवा लिन पाउनेछन्।

प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिनेछ। यसबाट नागरिकताको अभिलेख र विवरण प्रमाणीकरण गरेर मात्र प्रतिलिपि जारी गर्ने व्यवस्था गरिएको छ।

सुचना जिल्ला प्रशासन कार्यालाय.jpg
जिल्ला प्रशासन कार्यालय काठ्माण्डौको सुचना

विवरण फरक परे सम्बन्धित जिल्लामै जानुपर्ने

यद्यपि, सबै अवस्थाका नागरिकले उपत्यकाबाटै प्रतिलिपि लिन पाउने छैनन्। सम्बन्धित नागरिकताको अभिलेख फेला नपरेमा, अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहेमा सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ।

त्यस्तै, पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकताका हकमा पनि नागरिकता जारी भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

नयाँ व्यवस्थाले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज बनाउने अपेक्षा गरिएको छ। विशेषगरी रोजगारी, अध्ययन तथा व्यवसायका लागि उपत्यकामा रहेका नागरिकलाई प्रतिलिपि लिनकै लागि आफ्नो गृहजिल्ला धाउनुपर्ने झन्झट कम हुने देखिएको छ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.