Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Saturday, October 31, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Sports News

पहिलो जितको खोजीमा विराटनगर, लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा सुदूरपश्चिम

पहिलो जितको खोजीमा विराटनगर, लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा सुदूरपश्चिम

This story is not available in English, so you are reading it in Nepali.

१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणअन्तर्गत शनिबार साँझ हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

दुवै टोलीका लागि यो खेल अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरसमेत हुनेछ। यद्यपि, काठमाडौंमा वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने चुनौती पनि छ।

विराटनगरले यसअघि खेलेका दुवै खेलमा जितको नजिक पुगेर पनि नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन। पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग अन्तिम बलसम्म प्रतिस्पर्धा गर्दै हार बेहोर्न बाध्य भयो।

चितवनविरुद्ध लक्ष्य पछ्याउने क्रममा ब्याटिङमा सम्हालिन नसकेको विराटनगरले कर्णालीविरुद्ध भने १८७ रनको बलियो योगफल तयार पारेको थियो। तर, कमजोर फिल्डिङ, छुटेका क्याच र ओभरथ्रोका कारण बनाएको रनसमेत रक्षा गर्न सकेन।

लगातार दुई हारपछि विराटनगर अब आफ्नो कमजोरी सुधार्दै पहिलो जित निकाल्ने योजनामा हुनेछ। ब्याटिङमा लोकेश बमले उत्कृष्ट लय देखाए पनि अन्य ब्याटरबाट पर्याप्त साथ पाउन सकेको छैन। त्यसैले यस खेलमा ब्याटिङसँगै फिल्डिङमा पनि सुधार गर्नु विराटनगरका लागि उत्तिकै आवश्यक देखिन्छ।

यता, सुदूरपश्चिमले भने सुरुवाती हारपछि पुनरागमन गरेको छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै जितको लय समातेको हो।

पहिलो खेलको कमजोरी सुधार्दै जित निकालेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ। अनुभवी र युवा खेलाडीको संयोजन मिलाउँदै मैदानमा उत्रने उसको प्रयास हुनेछ।

पछिल्लो लय र हेड टु हेड

पछिल्लो समयको प्रदर्शन हेर्दा विराटनगर दबाबमा देखिन्छ। अघिल्लो सिजनका क्वालिफायर–१ र क्वालिफायर–२ मा पराजित भएको विराटनगरले यस सिजनका सुरुवाती दुई खेलसमेत गुमाएको छ। यससँगै टोली लगातार चार खेलमा पराजित भएको छ।

सुदूरपश्चिमको पछिल्लो यात्रा भने मिश्रित छ। अघिल्लो सिजनको फाइनलमा लुम्बिनी लायन्ससँग पराजित भएको उसले यस संस्करणको पहिलो खेलमा पनि लुम्बिनीसँगै हार बेहोरेको थियो। तर, दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै टोलीले जितको लय समातेको छ।

एनपीएलका अघिल्ला दुई संस्करणमा विराटनगर र सुदूरपश्चिमबीच तीन पटक प्रतिस्पर्धा भएको छ। पहिलो संस्करणको लिग चरणमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको थियो।

दोस्रो संस्करणको लिग चरणमा भने विराटनगरले ६ विकेटको जित निकाल्दै अघिल्लो हारको बदला लिएको थियो। तर, सोही संस्करणको क्वालिफायर–१ मा भएको अर्को भेटमा सुदूरपश्चिमले ७७ रनको फराकिलो जित निकाल्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो।

यसरी अहिलेसम्मका तीन भेटमा सुदूरपश्चिमले दुई खेल जित्दा विराटनगरले एक खेल आफ्नो पक्षमा पारेको छ। यसपटक विराटनगर पुरानो हारको हिसाब बराबर गर्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम आफ्नो वर्चस्व कायम राख्न चाहन्छ।

Screenshot 2026-10-31 090042.png

टिम कम्बिनेसनमा विदेशी खेलाडीको प्रभाव

यस खेलमा दुवै टोलीको प्लेइङ–११ छनोट पनि चासोको विषय हुनेछ। विशेषगरी सुदूरपश्चिमको विदेशी खेलाडीको संयोजनमा परिवर्तन हुन सक्ने देखिन्छ।

सुदूरपश्चिमका विदेशी खेलाडी फेबियन एलेन अझै टोलीमा आइपुगेका छैनन्। तर, श्रीलंकाली खेलाडी थरिन्दु रथ्नायके टोलीमा जोडिएका छन्। उनको बलिङ क्षमतालाई उपयोग गर्ने उद्देश्यले सुदूरपश्चिमले उनलाई प्लेइङ–११ मा समावेश गर्न सक्ने सम्भावना छ।

यदि रथ्नायकेले खेल्ने अवसर पाए भने ब्रान्डन म्याकमुलेन बाहिर बस्नुपर्ने हुन सक्छ। यद्यपि, विदेशी खेलाडीको उपलब्धता र टिम कम्बिनेसनका आधारमा अन्तिम निर्णय हुनेछ।

विराटनगरले भने विदेशी खेलाडीमा ठूलो परिवर्तन गर्ने सम्भावना कम छ। एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रन्जाने र चरिथ असलंका नै मैदानमा उत्रने सम्भावना छ। नेपाली खेलाडीमध्ये इमरान शेखको स्थानमा साहिल पटेलले अवसर पाउन सक्नेछन्।

विराटनगरको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने, लोकेश बम, साहिल पटेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, आन्द्रे रसेल, शुभम रन्जाने, प्रतिश जिसी, बसिर अहमद, नरेन साउद।

सुदूरपश्चिमको सम्भावित प्लेइङ–११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), इशान पान्डे, विनोद भण्डारी, आरिफ शेख, सेफ जैब, ब्रान्डन म्याकमुलेन/थरिन्दु रथ्नायके, अनिल खरेल, हेमन्त धामी, अविनाश बोहरा, शेरफन रदरफोर्ड र स्कट कुग्लेइन।

Screenshot 2026-10-31 090104.png

यी खेलाडीमाथि रहनेछ नजर

विराटनगरका लागि लोकेश बम यस खेलका प्रमुख आकर्षण हुनेछन्। सुरुवाती दुई खेलमा आक्रामक ब्याटिङ गरेका उनले टोलीको रन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्। विशेषगरी पावरप्लेमा आक्रामक सुरुवात दिलाउन सक्ने क्षमता विराटनगरका लागि उपयोगी बन्न सक्छ।

त्यस्तै, कप्तान सन्दीप लामिछानेको बलिङ पनि महत्वपूर्ण हुनेछ। विपक्षी ब्याटरलाई दबाबमा राख्दै विकेट निकाल्न सके विराटनगरले खेलमा आफ्नो पकड बनाउन सक्छ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी मुख्य खेलाडी हुन्। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा योगदान दिन सक्ने दीपेन्द्रको प्रदर्शनले टोलीको नतिजामा प्रभाव पार्न सक्छ।

बलिङतर्फ अनिल खरेलमाथि पनि विशेष नजर रहनेछ। उनले सुरुवाती दुई खेलमा प्रभावशाली बलिङ गर्दै विकेट लिएका छन्। विराटनगरको बलियो ब्याटिङ क्रमलाई रोक्न उनको प्रदर्शन महत्वपूर्ण हुन सक्छ।

समग्रमा, विराटनगरका लागि यो खेल हारको शृंखला तोड्ने अवसर हो भने सुदूरपश्चिमका लागि जितको लय कायम राख्ने चुनौती। दुवै टोलीका कमजोरी र बलिया पक्षलाई हेर्दा साँझको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ। तर, वर्षाले खेलको रोमाञ्चकता र नतिजामा कस्तो प्रभाव पार्छ भन्ने चासो पनि उत्तिकै छ।


खेल विवरण

  • खेल : विराटनगर किङ्स भर्सेस सुदूरपश्चिम रोयल्स
  • मिति : १४ कात्तिक, शनिबार
  • समय : साँझ ५ बजे
  • स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
  • मौसम : बदलीसँगै वर्षाको सम्भावना

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.