This story is not available in English, so you are reading it in Nepali.
१३ कात्तिक, काठमाडौं । विश्व क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिता रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गरेका छन्। प्रतियोगिताका सुरुवाती ६ खेल सकिँदासम्म सबै खेलमा नेपाली खेलाडी नै ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।
अघिल्ला संस्करणमा सुरुवाती खेलदेखि नै विदेशी खेलाडीको प्रदर्शन हावी हुने गरेको थियो। तर, यसपटक भने नेपाली खेलाडीले विदेशी स्टारहरूलाई चुनौती दिँदै आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। विशेषगरी युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र अनुभवी खेलाडी सोमपाल कामीले पनि आफ्नो प्रभाव देखाएका छन्।
एनपीएलको दोस्रो संस्करणमा सुरुवाती आठ खेलमा एक जना मात्र नेपाली खेलाडीले ‘प्लेयर अफ द म्याच’ अवार्ड जितेका थिए। तर, तेस्रो संस्करणमा सुरुवाती ६ वटै खेलको अवार्ड नेपाली खेलाडीले जित्दै नयाँ सन्देश दिएका छन्।
अहिलेसम्मका खेलमा बलरहरूको प्रदर्शन विशेष उल्लेखनीय देखिएको छ। लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी, कर्णाली याक्सका युनिश विक्रम ठकुरी र जनकपुर बोल्ट्सका राहुल यादवले बलिङबाट प्रभाव जमाएका छन्। यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र कर्णाली याक्सका कप्तान सोमपाल कामीले अलराउन्ड प्रदर्शन गर्दै अवार्ड जितेका छन्।
सुरुवाती तीन खेलमा बलरको दबदबा
९ कात्तिकमा भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल ‘प्लेयर अफ द म्याच’ बने। उनले सुदूरपश्चिम रोयल्सविरुद्ध चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिए।
शेरले चर्चित विदेशी खेलाडी शेरफेन रदरफोर्ड, स्कट कुग्लेइन र नेपाली खेलाडी विनोद भण्डारीलाई आउट गरेका थिए। लुम्बिनीलाई सात विकेटको जित दिलाउन उनको प्रदर्शन निर्णायक बन्यो। उक्त खेलमा लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए पनि शेरले अवार्ड हात पारे।
१० कात्तिकमा विराटनगर किंग्स र चितवन राइनोजबीच भएको खेलमा कमलसिंह ऐरी चम्किए। राष्ट्रिय टोलीबाट खेलिसकेका मध्यम गतिका बलर कमलले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिएपछि चितवनले विराटनगरलाई आठ रनले पराजित गरेको थियो।
उनले वेस्ट इन्डिजका आक्रामक ब्याटर आन्द्रे रसेल, श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज तथा नेपाली खेलाडी रुपेश सिंह र बसिर अहमदलाई आउट गरेका थिए। उत्कृष्ट बलिङका लागि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
सोही दिन भएको अर्को खेलमा कर्णाली याक्सका युवा स्पिनर युनिश विक्रम ठकुरीले पनि प्रभावशाली प्रदर्शन गरे। पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्ने क्रममा युनिशले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए।
उनले जनकपुरका चर्चित विदेशी खेलाडी जिमी निशम, कप्तान हरमीत सिंह र आदित्य महताको विकेट लिएका थिए। उनको उत्कृष्ट बलिङले कर्णालीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्यो।
दीपेन्द्र बने अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी
११ कात्तिकमा भएको प्रतियोगिताको चौथो खेलमा ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ बने।
पोखरा एभेन्जर्सले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा दीपेन्द्रले अविजित ५१ रन बनाए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे।
उनले इशान पाण्डेसँग चौथो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै सुदूरपश्चिमको जितको आधार तयार पारे। यससँगै दीपेन्द्र जारी संस्करणमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीसमेत बने।
१७ वर्षीय राहुलको सनसनीपूर्ण प्रदर्शन
१२ कात्तिकमा भएको पाँचौँ खेलमा जनकपुर बोल्ट्सका १७ वर्षीय तीव्र गतिका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। ट्यालेन्ट हन्टबाट छनोट भएर आइकोनिक खेलाडीका रूपमा जनकपुरमा समावेश भएका राहुलले पहिलो खेलमै एनपीएलमा डेब्यु गरेका थिए।
डेब्यु खेलको पहिलो बलमै विकेट लिएका उनले कर्णाली याक्सविरुद्ध दुई विकेट लिएका थिए। जनकपुर उक्त खेलमा पराजित भए पनि राहुलले आफ्नो प्रतिभाको संकेत दिइसकेका थिए।
बिहीबार काठमाडौं गोर्खाजविरुद्धको दोस्रो खेलमा भने उनले सनसनीपूर्ण प्रदर्शन गरे। राहुलले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिएपछि काठमाडौंको टोली ११५ रनमै समेटियो।
उनले काठमाडौंका ओपनर स्मित पटेल र साम हिजलेट, कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे। बलिङसँगै उत्कृष्ट क्याचसमेत लिएका राहुल खेलको उत्कृष्ट खेलाडी घोषित भए।
उनको प्रदर्शनबाट प्रभावित इंग्ल्यान्डका चर्चित अलराउन्डर मोइन अलीले राहुल भविष्यमा नेपालको लसिथ मलिङ्गा बन्न सक्ने प्रतिक्रिया दिएका छन्। दुई खेलमा ६ विकेट लिएका राहुल हाल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।
सोमपालको अलराउन्ड प्रदर्शन, कर्णालीलाई लगातार दोस्रो जित
कर्णाली याक्सका कप्तान सोमपाल कामीले विराटनगर किंग्सविरुद्ध अविस्मरणीय अलराउन्ड प्रदर्शन गर्दै टोलीलाई लगातार दोस्रो जित दिलाएका छन्। आफ्नो करियरकै उत्कृष्ट प्रदर्शनमध्ये एक प्रस्तुत गरेका सोमपालले बलिङमा चार विकेट लिनुका साथै ब्याटिङमा अविजित ६२ रन बनाए।
विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णाली एक समय ६.५ ओभरमा ५७ रन जोड्दा पाँच विकेट गुमाएर दबाबमा थियो। यस्तो अवस्थामा सातौँ नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले आक्रामक इनिङ्स खेल्दै टोलीलाई जितको बाटोमा फर्काए।
उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अविजित ६२ रन बनाए। छैटौँ विकेटका लागि ६६ रनको साझेदारी गरेका उनले त्यसपछि गुल्सन झासँग सातौँ विकेटका लागि अविजित ६४ रनको साझेदारी गर्दै कर्णालीलाई चार विकेटको रोमाञ्चक जित दिलाए।
यसअघि बलिङमा पनि सोमपालले विराटनगरका चार महत्वपूर्ण विकेट लिएका थिए। उनले सर्वाधिक ८७ रन बनाएका ओपनर लोकेश बमसँगै चर्चित विदेशी खेलाडी आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालाई आउट गरेका थिए।
यससँगै सोमपालले एनपीएलमा आफ्नो पहिलो अर्धशतकसमेत पूरा गरे। बलिङमा चार विकेट र ब्याटिङमा अर्धशतक बनाउँदै टोलीलाई जित दिलाएका सोमपालले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टिमको जित महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्।
उनले यस्तो प्रदर्शन गर्न पाउँदा आफूलाई निकै भाग्यमानी महसुस भएको बताए।
नेपाली खेलाडीका लागि अवसर र आत्मविश्वास
एनपीएलको सुरुवाती ६ खेलको नतिजाले नेपाली खेलाडीको क्षमता र सम्भावनालाई फेरि एकपटक उजागर गरेको छ। विदेशी स्टार खेलाडीको उपस्थितिमा पनि नेपाली खेलाडीले खेलको नतिजा बदल्न सक्ने प्रदर्शन गर्नु प्रतियोगिताको सकारात्मक पक्ष बनेको छ।
विशेषगरी राहुल यादव, युनिश विक्रम ठकुरी र शेर मल्लजस्ता युवा खेलाडीले ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन्। अर्कोतर्फ दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीजस्ता अनुभवी खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक क्षमता पनि देखाएको छ।
प्रतियोगिताको सुरुवाती प्रदर्शनले नेपाली खेलाडी अब विदेशी खेलाडीको छायामा मात्र सीमित छैनन्, बरु खेलको निर्णायक भूमिका निर्वाह गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ। अबका खेलमा पनि नेपाली खेलाडीले यही लय कायम राख्न सके एनपीएल उनीहरूको प्रतिभा पहिचान र विकासको महत्वपूर्ण मञ्च बन्नेछ।
Read online: https://ujyaalotoday.com/en/article/enapielama-nepali-kheladi-ko-dabadaba-suruvati-6-khelamai-sabai-pleyar-aph-d-mya
Comments
No comments yet. Comments appear once an editor has approved them.