Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Tuesday, November 3, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Politics News

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, सडक सुधारदेखि प्रेस काउन्सिल ऐन संशोधनसम्म

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, सडक सुधारदेखि प्रेस काउन्सिल ऐन संशोधनसम्म

This story is not available in English, so you are reading it in Nepali.

१७ कात्तिक, काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले सडक सुधारका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गर्नेदेखि विभिन्न ऐन संशोधनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयः

१. सडक सुधारका लागि ऋण र अनुदान स्वीकार गर्ने
एशियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

२. नेपाल पुनर्बिमा कम्पनीमा थप लगानी गर्ने
नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने ।

३. मल नियन्त्रण आदेश २०८३ स्वीकृत गर्ने
नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने मल नियन्त्रण आदेश २०८३ स्वीकृत गर्ने ।

४. कोप ३१ मा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी गराउने
टर्कीमा २०८३ कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।

५. मोही लागेको जग्गा बाँडफाँटको समयावधि थप गर्ने
मोही लागेको जग्गाका जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा त्यस्तो जग्गाको बाँडफाँटसम्बन्धी कारबाही टुङ्ग्याउनुपर्ने अवधि क्रमशः २०८५ कात्तिक र २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने ।

६. दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने
प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.