This story is not available in English, so you are reading it in Nepali.
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
आज दिउँसो साढे १२ बजे विराटनगर र जनकपुरबीच पहिलो खेल हुनेछ । तीन खेल खेलेको विराटनगर एक जित र दुई हारसहित मैदान उत्रँदैछ । चितवन र कर्णालीसँग पराजित विराटनगरले सुदूरपश्चिमलाई भने हराएको थियो ।
यता जनकपुर तीन खेलमा दुई जित र एक हारसहित मैदानमा उत्रनेछ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुरले त्यसपछि काठमाडौं र पोखरालाई हराउँदै लय समातेको छ । जनकपुर आज विराटनगरलाई हराउँदै आफ्नो जित संख्या बढाउने लक्ष्यमा हुनेछ ।
यसैगरी आज दिउँसो साढे ४ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ ।
दुई खेल खेलेको लुम्बिनीले एक जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ । पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको लुम्बिनीले दोस्रो खेलमा चितवनसँग अंक बाँडेको थियो ।
यता पोखरा एभेन्जर्स भने लगातार दुई हारपछि पहिलो जितको खोजीमा छ । पोखरा पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
आज लुम्बिनीविरुद्ध मैदान उत्रँदा पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । लुम्बिनी भने आफ्नो जित संख्या बढाउँदै अंकतालिकामा बलियो स्थिति बनाउने दाउमा छ ।
एनपीएलमा आजका दुवै खेलले टोलीहरूको अंकतालिका र आगामी यात्रामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Read online: https://ujyaalotoday.com/en/article/enapielama-aj-biratnagar-janakpur-r-lumbini-pokhara-bhiddai
Comments
No comments yet. Comments appear once an editor has approved them.