२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र स्थान बनाउन संघर्षरत नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ।
शृङ्खलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल तेस्रो खेलमा भने क्यानडासँग पराजित भएको थियो। उक्त हारसँगै नेपालको शीर्ष ६ मा रहने सम्भावनामा दबाब बढेको छ।
नेपाललाई पराजित गरेपछि क्यानडा ३६ खेलबाट २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ३५ खेलबाट २८ अंक रहेको नेपाल भने सातौँ स्थानमा झरेको छ। आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने सम्भावना बलियो हुने भएकाले नेपालका लागि आजको खेलको नतिजा विशेष महत्त्वपूर्ण छ।
यसअघि ओमानविरुद्धको खेलमा जित हात पारिसकेको नेपाल आज पनि सोही प्रदर्शन दोहोर्याउँदै अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ। शीर्ष ६ मा पुग्ने लक्ष्यसहित मैदान उत्रने नेपाली टोलीका लागि आजको खेल निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
अनलाइन पढ्नुहोस्: https://ujyaalotoday.com/article/shirsha-6-ma-uklin-nepal-lai-omanaviruddha-jitnaiparne-dabab
प्रतिक्रिया
अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।