स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
बिहीबार, ५ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
खेलकुद समाचार

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने

काठमाडौं, ३ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यस संस्करणमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको बताएका थिए। उनका अनुसार यसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षणसमेत सम्पन्न भइसकेको थियो। परीक्षणपछि प्रविधिको शुद्धता (एक्युरेसी) मूल्यांकन गरेर अन्तिम निर्णय लिइने बताइएको थियो।

डीआरएस क्रिकेटमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने आधुनिक प्रविधि हो। यसले मैदानमा भएका अम्पायरको निर्णयप्रति चित्त नबुझेमा सम्बन्धित टोलीलाई रिभ्यू माग्ने अवसर प्रदान गर्छ। यसको प्रयोगबाट खेलका विवादित निर्णयलाई थप तथ्यपरक र विश्वसनीय बनाउन सहयोग पुग्छ।

क्यानका अनुसार एनपीएलमा लेग बिफोर विकेट (एलबीडब्लु) सम्बन्धी निर्णय पुनरावलोकन गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। यसका साथै रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि रिभ्यू गर्न सकिने व्यवस्था रहनेछ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको माध्यमबाट ब्याटमा बल लागेको वा नलागेको पहिचान अर्थात् एज डिटेक्सन गरिनेछ। हाइटका आधारमा वाइड बलको विश्लेषण, छक्काको दूरी र उचाइ मापन तथा अन्य बलिङ एनालिटिक्ससम्बन्धी सुविधा पनि उपलब्ध हुने क्यानले जनाएको छ।

डीआरएसको प्रयोगले एनपीएलमा अम्पायरिङको गुणस्तर र निर्णयको विश्वसनीयता बढाउनुका साथै खेललाई थप प्रतिस्पर्धात्मक, पारदर्शी र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

कहिल्यै देखाइँदैन। तपाईंको प्रतिक्रियाबारे सम्पर्क गर्नुपरे मात्र प्रयोग गरिन्छ।