स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
बिहीबार, ५ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
खेलकुद समाचार

सन् २०२७ को विश्वकप छनोट प्लेअफ नेपालमा, डिसेम्बर ४ देखि प्रतियोगिता हुने

सन् २०२७ को विश्वकप छनोट प्लेअफ नेपालमा, डिसेम्बर ४ देखि प्रतियोगिता हुने

५ कात्तिक, काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम चारमा रहने टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको विश्वकप छनोट प्रतियोगितामा प्रवेश गर्नेछन्।

प्लेअफमा सहभागी हुने आठमध्ये हालसम्म छ टोलीको टुङ्गो लागिसकेको छ। नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) लिग–२ को अन्तिम चारमा रहने निश्चित भइसकेको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले पनि प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।

च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भएको छ भने कुवेतको सम्भावना पनि बलियो छ। यद्यपि, प्रतियोगिताका केही खेल बाँकी रहेकाले कुवेतको स्थान औपचारिक रूपमा पुष्टि हुन बाँकी छ।

त्यसैगरी, लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोलीले प्लेअफमा स्थान बनाउनेछ। बाँकी टोलीको टुङ्गो लागेसँगै प्रतियोगितामा सहभागी हुने आठै टोलीको सूची पूरा हुनेछ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीच आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

कहिल्यै देखाइँदैन। तपाईंको प्रतिक्रियाबारे सम्पर्क गर्नुपरे मात्र प्रयोग गरिन्छ।