This story is not available in English, so you are reading it in Nepali.
१५ कात्तिक, जनकपुरधाम । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढे पनि उपभोक्तालाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन दैनिक करिब २५ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पनि सरकारसँगको समन्वयमा उपभोक्तालाई सहज मूल्यमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमले घाटा सहेर बिक्री गरिरहेको बताएका हुन् ।
शनिबार बर्दिबासमा आयोजित पेट्रोलियम डिलर्स एसोसिएसन महोत्तरीको छैटौँ साधारणसभाको उद्घाटन गर्दै उनले उपभोक्ताको हितलाई ध्यानमा राखेर निगमले यस्तो निर्णय लिएको जानकारी दिए ।
उनले खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सर्लाहीमा ग्यास डिपो निर्माण भइरहेको पनि बताए । साथै, सर्लाही र भारतको मोतीहारीबाट पाइपलाइन विस्तार गर्ने योजना राष्ट्रिय प्राथमिकतामा रहेको उल्लेख गरे ।
पेट्रोलियम व्यवसायलाई थप व्यवस्थित बनाउन व्यवसायीलाई आग्रह गर्दै साहले कमिसनलगायतका विषयमा आगामी दिनमा हुने निर्णयमा निगमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एसोसिएसनका राष्ट्रिय अध्यक्ष विश्वप्रसाद अर्यालले संस्थाको विकाससँगै व्यवसायीको हित संरक्षण पनि आवश्यक रहेको बताए । उनले सञ्चालन लागतअनुसार प्रतिफल प्राप्त नभएको उल्लेख गर्दै पेट्रोलियम व्यवसायीको कमिसन वृद्धि गर्नुपर्ने माग गरे ।
त्यस्तै, एसोसिएसनका निवर्तमान अध्यक्ष लिलेन्द्र प्रधानले न्यून सेवा शुल्कमा व्यवसायीले काम गर्नुपरेको भन्दै व्यवसायलाई पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । उपभोक्तालाई केन्द्रमा राखेर निर्धारित गुणस्तर र परिमाणअनुसार इन्धन उपलब्ध गराउनु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो ।
प्रधानले राज्यले व्यवसायीलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै लागत र प्रतिफलबीचको सन्तुलन कायम नगरिए व्यवसायी यो पेसाबाट पलायन हुन सक्ने र त्यसले उपभोक्तालाई सहज सेवा उपलब्ध गराउनसमेत कठिनाइ सिर्जना गर्ने धारणा राखे ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पेट्रोलियम व्यवसायीलाई आफ्नो पेसाप्रति निष्ठावान् र जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
ढुवानी व्यवसायी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहले महेन्द्रनगर डिपोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै पेट्रोलियम ढुवानी तथा बिक्री व्यवसायीको कमिसन वृद्धि गर्नुपर्ने माग गरे ।
एसोसिएसन महोत्तरीका अध्यक्ष राजिव प्रसाद साहको अध्यक्षतामा सम्पन्न साधारणसभामा पेट्रोलियम व्यवसायको व्यवस्थापन, व्यवसायीको हित, उपभोक्तालाई गुणस्तरीय सेवा तथा इन्धनको सहज आपूर्तिलगायतका विषयमा छलफल भएको थियो ।
Read online: https://ujyaalotoday.com/en/article/dainik-25-karod-ghata-vyahorer-petroliyam-padartha-bikri-gardai-ayal-nigam
Comments
No comments yet. Comments appear once an editor has approved them.