१८ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये चार जना पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाबाट थप दुई जना पक्राउ परेसँगै आधा कैदीबन्दी नियन्त्रणमा आएका हुन् । बाँकी चार जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का कपिल परियार रहेका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले उनीहरू पक्राउ परेको जानकारी दिएकी हुन् ।
यसअघि मंगलबार रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना रहेका छन् ।
कारागारबाट फरार भएका अन्य चार जना भने अझै पक्राउ परेका छैनन् । फरार रहनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी रहेका छन् ।
गत १४ कात्तिकको राति जिल्ला कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्डमा सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ ।
अनलाइन पढ्नुहोस्:https://ujyaalotoday.com/article/dolpa-karagar-bat-pharar-athamadhye-char-kaidi-pakrau-char-ajhai-pharar
प्रतिक्रिया
अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।