Independent journalism. A clearer Nepal.
About usGet in touch English नेपाली
Friday, October 30, 2026 Nepal’s voice, for everyone
Ujyaalo Today News that brings light
The daily briefing
Nepal News

समाचार कक्षमै प्रहरीको प्रवेश, एकपछि अर्को पत्रकार नियन्त्रणमा; सञ्चारमाध्यममा प्रहरीको दबाब बढेको भन्दै चिन्ता

समाचार कक्षमै प्रहरीको प्रवेश, एकपछि अर्को पत्रकार नियन्त्रणमा; सञ्चारमाध्यममा प्रहरीको दबाब बढेको भन्दै चिन्ता

This story is not available in English, so you are reading it in Nepali.

१३ कात्तिक, काठमाडौं । काठमाडौंमा शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिने तथा सोधपुछका लागि भन्दै खोजी गर्ने क्रम बढाएको छ। समाचारको स्रोत खोज्ने र साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने भन्दै प्रहरीले एकपछि अर्को पत्रकारलाई नियन्त्रणमा लिन थालेपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

शुक्रबार नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ। सादा पोशाकमा पुगेका प्रहरीले समाचारको स्रोत खोज्नुपर्ने भन्दै उनलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेलले जानकारी दिएका छन्।

पौडेलका अनुसार सुवेदी लामो समयदेखि सुरक्षा मामिलासम्बन्धी समाचार लेख्दै आएका पत्रकार हुन्। उनलाई समाचार कक्षबाटै लगिएको घटनाबारे जानकारी पाएपछि आफू पनि साइबर ब्यूरो जान लागेको पौडेलले बताएका छन्।

यसैबीच, प्रहरीले नयाँ पत्रिका दैनिकको कार्यालयमा समेत पुगेर संवाददाता नवराज मैनालीलाई उपस्थित गराउन दबाब दिएको छ। अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै सादा पोशाकमा पाँच जना प्रहरी अधिकारी कार्यालय पुगेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार प्रहरीले मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यालयमै बसेर उनलाई उपस्थित गराउन आग्रह गरेका छन्। तर, प्रहरी टोलीसँग पक्राउ पुर्जी नरहेको पन्तले बताएका छन्।

त्यस्तै, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पनि प्रहरीले बिजुलीबजारस्थित कार्यालयबाट नियन्त्रणमा लिएको छ। श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसीका अनुसार सादा पोशाकमा पुगेका प्रहरीले बराललाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएका हुन्।

डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन आएपछि आफू त्यहाँ पुगेको र पछि थप अनुसन्धानका लागि भन्दै कार्यालयमै बस्न भनिएको एक पत्रकारले जानकारी दिएका छन्।

यता, अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि चार जना सादा पोशाकका प्रहरी पुगेका छन्। उनीहरूले प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने भन्दै कार्यालयमा खोजी गरेका हुन्। प्रहरी टोलीले दुवै जनालाई भेट्न र साथमा लैजान आएको बताएको त्यहाँ कार्यरत एक पत्रकारले जानकारी दिएका छन्।

दियो पोस्टले केही समयअघि प्रधानन्यायाधीशसम्बन्धी समाचारका विषयमा धम्की आएको समाचारसमेत प्रकाशित गरेको थियो।

शुक्रबार एकै दिन नेपाल प्रेस, नयाँ पत्रिका, मोटिभेट न्युज, डीएनए खबर र दियो पोस्टजस्ता सञ्चारमाध्यममा प्रहरीको उपस्थिति देखिएको छ। केही पत्रकारलाई नियन्त्रणमा लिइएको छ भने केहीलाई खोजी तथा उपस्थित गराउन प्रहरी कार्यालयमै पुगेको छ।

समाचारको स्रोत खुलाउन दबाब दिने, समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिने र पक्राउ पुर्जीबिनै सञ्चारमाध्यमको कार्यालयमा पुगेर पत्रकार खोज्ने घटनाले सञ्चार क्षेत्रलाई तरंगित बनाएको छ।

पत्रकारले प्रकाशन तथा प्रसारण गरेका समाचारको विषयमा अनुसन्धान गर्नुपर्ने अवस्था भए पनि त्यसका नाममा समाचार कक्षमै प्रहरी प्रवेश गर्ने, स्रोत खुलाउन दबाब दिने र कानुनी प्रक्रिया पूरा नगरी पत्रकारलाई नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकमा प्रत्यक्ष असर पार्न सक्ने चिन्ता बढाएको छ।

शुक्रबार भएका यी घटनाबारे प्रहरीको आधिकारिक धारणा तथा सम्बन्धित पत्रकारहरूमाथि लगाइएको आरोप र अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

Comments

No comments yet. Comments appear once an editor has approved them.

Add a comment

Never shown. We use it only if we need to contact you about your comment.