This story is not available in English, so you are reading it in Nepali.
४ कात्तिक, काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। उत्तम साइत खोज्नेहरूका लागि समितिले बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरेको छ।
समितिका अनुसार दशैंको टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ। धार्मिक परम्पराअनुसार दक्षिणतर्फ फर्किएर पितृकर्म गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन।

कलशको जल र जमराको धार्मिक महत्त्व
दुर्गा विसर्जनपछि टीका लगाउने क्रम सुरु हुन्छ। सबैभन्दा पहिले कुलदेवता र पितृदेवतालाई टीका चढाउने परम्परा छ। कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाउने चलन पनि छ।
धार्मिक मान्यताअनुसार दुर्गा विसर्जनपछि कलशको जल पवित्र हुन्छ। उक्त जलले अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्दै जमरा काट्ने तथा घरको मूल ढोकामाथि टीका लगाउने परम्परा छ। त्यसपछि गुरु–पुरोहित वा मान्यजनबाट टीका र जमरा ग्रहण गरिन्छ।
साइतमा मात्रै टीका लगाउनुपर्छ भन्ने छैन
दशैंको टीका उत्तम साइतमै लगाउनुपर्ने हो कि जुनसुकै समयमा लगाए पनि हुन्छ भन्ने जिज्ञासा धेरैमा हुने गरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार बिहान घाम झुल्केपछि विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर अन्य आफन्तकहाँ टीका थाप्न जान सकिन्छ।
Read online: https://ujyaalotoday.com/en/article/aj-badadashain-ko-tika-uttam-sait-bihan-10-26-baje
Comments
No comments yet. Comments appear once an editor has approved them.