स्वतन्त्र पत्रकारिता। स्पष्ट नेपाल।
हाम्रो बारेमासम्पर्क English नेपाली
शुक्रबार, १३ कार्तिक २०८३ नेपालको आवाज, सबैको लागि
उज्यालो टुडे उज्यालो ल्याउने समाचार
दैनिक समाचार
नेपाल समाचार

चक्रवात ‘अर्णव’को प्रभाव : आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्णव’को प्रभाव : आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा मौसम बदली भएको छ । यसको प्रभावका कारण आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशका अधिकांश स्थानमा बादल लाग्ने जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्ने र मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । केही स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान छ ।

महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कृषि कार्यदेखि हिमाली यात्रासम्म सतर्कता अपनाउन आग्रह

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य प्रभावित हुन सक्ने भन्दै महाशाखाले आज र भोलि यस्ता कार्य नगर्न आग्रह गरेको छ । विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

महाशाखाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यस्ता क्षेत्रमा पुगिसकेकालाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

वर्षाका कारण तापक्रम घटेर चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक छेउमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ । यसले दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।

प्रतिक्रिया लेख्नुहोस्

कहिल्यै देखाइँदैन। तपाईंको प्रतिक्रियाबारे सम्पर्क गर्नुपरे मात्र प्रयोग गरिन्छ।