१७ कात्तिक, काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। ब्याटिङमा अविजित अर्धशतक बनाएका रसेलले बलिङमा ४ विकेट लिएपछि विराटनगरले अन्तिम बलसम्म चलेको रोमाञ्चक खेलमा जित निकालेको हो।
विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा १३ रन आवश्यक रहेको अवस्थामा रसेलले दुई विकेट लिँदै विराटनगरको जित सुनिश्चित गरे।
जनकपुरका लागि बंगलादेशी ब्याटर सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। ४८ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। उनलाई रसेलले इनिङ्सको अन्तिम बलमा बसिर अहमदबाट क्याचआउट गराए।
जनकपुरका विशाल सुशीलिङले ३० बलमा ४३ तथा जिमी निशमले १५ बलमा २७ रनको योगदान दिए।
जनकपुरले ३० रन जोड्दा नै सुरुवाती तीन विकेट गुमाएको थियो। त्यसपछि सेफ हसन र विशाल सुशीलिङले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हालेका थिए।
विशाल आउट भएपछि निशमले हसनलाई साथ दिँदै आक्रामक ब्याटिङ गरे। यी दुईबीच पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो। तर, १९औँ ओभरको अन्तिम बलमा रुपेश सिंहले निशमलाई आउट गरेपछि जनकपुर दबाबमा परेको थियो।
अन्तिम ओभरमा रसेलले कप्तान हरमित सिंहलाई दोस्रो बलमा शून्य रनमै आउट गरे। अन्तिम बलमा सेफ हसनलाई पनि पभेलियन फर्काएपछि जनकपुरको जितको सम्भावना समाप्त भयो।
बलिङमा विराटनगरका रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६, लोकेश बमले ५० तथा आन्द्रे रसेलले अविजित ५२ रन बनाए।
एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक बनाएको यो पहिलो अवसर हो। इमरानले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए भने लोकेशले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे।
ओपनर शेहान जयसूर्य टोलीको स्कोर २ रन हुँदा नै आउट भएपछि क्रिजमा आएका इमरान शेख र लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको शतकीय साझेदारी गरेका थिए। जारी संस्करणको यो पहिलो शतकीय साझेदारी हो।
त्यसपछि आक्रामक ब्याटिङ गरेका रसेलले २९ बलमा २ चौका र ५ छक्कासहित अविजित ५२ रन बनाए। शुभम रञ्जाने ५ बलमा ७ रन जोड्दै अविजित रहे।
जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।
यस जितसँगै विराटनगरले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। सुरुवाती दुई खेलमा पराजित भएको विराटनगरले पछिल्ला दुई खेल जित्दै चार खेलबाट ४ अंक जोडेको छ।
यता जनकपुरले चार खेलमा दोस्रो हार बेहोरेको छ। जनकपुरको पनि चार खेलबाट ४ अंक रहेको छ।
अनलाइन पढ्नुहोस्:https://ujyaalotoday.com/article/andre-rasel-ko-alaraunda-pradarshanama-biratnagar-ko-romanchak-jit-janakpur-2-ra
प्रतिक्रिया
अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।