१३ कात्तिक, काठमाडौं । भुटानमा गएराति एक्कासि भीषण बाढी आएपछि हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड–जीएलओएफ) भएको आशंका गरिएको छ । बाढीका कारण गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा प्रभावित भएको छ भने विभिन्न स्थानमा सडक, सिँचाइ प्रणाली र पूर्वाधारमा क्षति पुगेको छ ।
मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा क्षति पुर्याएको छ । बाढीसँगै बगेर आएको ढुंगा, माटो र गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्डसमेत बगाएको छ ।
त्यस्तै, लाया गेओगको सडकअन्तर्गत टोङचुद्राक खण्डमा पनि क्षति पुगेपछि लाया क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)ले जनाएको छ ।
बाढीबाट अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । रातिको समयमा बाढी आएकाले तत्काल सबै क्षेत्रको क्षतिको विवरण संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन् ।
सिन्ताफु हिमताल विस्फोट भएको आशंका
भुटानको गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको हुन सक्ने आशंका गरिएको छ । लाया गेओगको लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा रहेको उक्त हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो ।
सिन्ताफु हिमताल मो छू नदीको मुहान क्षेत्रमा पर्ने भएकाले नदीमा आएको अचानकको बाढीलाई ताल विस्फोटसँग जोडेर हेरिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्वीरमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिए पनि ती तस्वीरको आधिकारिकता पुष्टि हुन बाँकी छ । सम्बन्धित निकायले पनि हिमताल विस्फोट भएको औपचारिक पुष्टि गरेका छैनन् ।
जोखिम क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सारिए
बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सैनिक, सरकारी कर्मचारी र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी तथा गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी र आगन्तुकलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।
पुनाखाको येबिसा क्षेत्रमा पनि बाढीको पानी पुगेको छ । पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा स्थानान्तरण गरिएको जनाएको छ ।
नदीको जलस्तर निगरानी, साइरन प्रणाली सक्रिय
भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्र (एनसीएचएम)ले मो छू नदीको तासिथाङ र येबिसा क्षेत्रमा पानीको सतह निरन्तर निगरानी गरिरहेको जनाएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै मो छू र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा जडान गरिएका साइरन प्रणाली सक्रिय पारिएको छ । साथै, जोखिममा पर्न सक्ने छिमेकी जिल्लालाई पनि सतर्क गराइएको छ ।
बाढीसँगै ढुंगा, माटो तथा अन्य गेग्रान बगेर आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्ने युनिटहरू बन्द गरेको छ ।
आयोजनाले बाँधका ढोकासमेत खोलेर जलाशयको पानीको सतह घटाएको छ । बाढीको पानी र त्यससँगै बगेर आउने गेग्रानलाई सहज रूपमा निकास दिन यस्तो सावधानी अपनाइएको जनाइएको छ ।
हिमताल विस्फोट भएको हो वा अन्य कारणले बाढी आएको हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी रहेकाले भुटानका सम्बन्धित निकायले प्रभावित क्षेत्र र नदीको बहावमाथि निगरानी जारी राखेका छन् ।
अनलाइन पढ्नुहोस्: https://ujyaalotoday.com/article/bhutanama-bhishan-badhi-himatal-visphot-ko-ashanka-basti-r-sadakama-kshati
प्रतिक्रिया
अहिलेसम्म प्रतिक्रिया छैन। सम्पादकले स्वीकृत गरेपछि प्रतिक्रिया देखिन्छन्।