न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ

न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ

२८ पुस, काठमाडौं । जनताको पक्षमा प्रखर आवाज उठाउने परिचय बनाएका नेता हुन् गगनकुमार थापा । तर नेपाली कांग्रेसको महामन्त्री भएपछि सर्वोच्च अदालतको विवाददेखि सत्ता गठबन्धन लगायत थुप्रै विषयमा थापाको धारणा खोजी भइरहेको छ । तर उनी सार्वजनिक मञ्चहरुमा विगतमा झैं प्रखर नभएको गुनासो छ ।

महामन्त्री थापा भने आफ्नो काम गर्ने तरिका बदलिएको, तर पोजिसन नफेरिएको बताउँछन् । ‘जनताको सवाल उठाउने कुरामा सम्झौता हुँदैन’ उनी भन्छन्, ‘म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरें भने किन चाहियो गगन थापा ? मेरो ठाउँमा जो भए पनि भयो नि !’

प्रस्तुत छ, कांग्रेस महामन्त्री थापासँग राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

जनताको पक्षमा प्रखर आवाज उठाउने गगन थापाले कांग्रेस महामन्त्री निर्वाचित भएपछि ‘टोन डाउन’ गरेको हो ?

जुन जिम्मेवारीमा छु, त्यो जिम्मेवारीबाट कार्यसम्पादन गर्दा केही कुरामा ध्यान दिनैपर्ने र केही कुरामा सचेत रहनैपर्ने अवस्था छ । जस्तो– हिजो जनसरोकारका कुनै विषयलाई सार्वजनिक मञ्चबाट होस् अथवा राजनीतिक मञ्चबाट फ्याट्टै उठाइदिए पुग्थ्यो । कतिपय सन्दर्भमा प्रश्न मात्रै उठाइदिए पुग्थ्यो । उत्तर दिइरहन पर्दैनथ्यो किनकि बहस गराइदिने जिम्मेवारी थियो ।

महामन्त्री भएपछि कुनै विषय प्रश्न हो भन्ने लाग्दा पार्टीकै प्रश्न बनाउनुपर्नेछ । मैले कुनै प्रस्ताव गर्छु भने त्यो पार्टीकै प्रस्ताव हुनुपर्नेछ । अहिले पनि मेरो दिमागमा दर्जनौं प्रश्न छन् । जस्तो– भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक विस्तार गर्ने अभिव्यक्ति दिनुभयो । यसबारे नेपाल सरकारको ‘पोजिसन’ तत्काल देखिनुपर्छ । भारतसँग यो विषय राख्नुपर्छ, नेपाली जनतालाई आश्वस्त पार्नुपर्छ भन्ने छ । हिजो यो विषयमा नेपालका प्रधानमन्त्री बोल्नुपर्छ भनिदिए पुग्थ्यो । आज मेरै पार्टी सभापतिले सरकार चलाइरहनु भएको छ, उहाँलाई यो बिषयमा बोल्ने बनाउन परेको छ । त्यहाँसम्म पुग्न अलिकति समय लाग्ने रहेछ, अलि पेचिलो पनि हुने रहेछ ।

मेरो पोजिसन भने फेरिएको छैन । जनताको सवाल उठाउने कुरामा सम्झौता हुँदैन । प्रश्न गर्ने ठाउँबाट उत्तर दिने वा दिलाउने ठाउँ नजिक पुगेको हुँदा तरिका बदलिने भयो । काम गर्ने तरिका बदलिँदा थोरै अल्मलिएको पनि हुँला ।

मेरो सभापति प्रधानमन्त्रीको भूमिकामा भएपनि म पार्टीको महामन्त्री मात्र हुँ, सरकारको मन्त्री होइन । जनताको कुरा सरकारलाई कसरी सुनाउने भन्ने सोचिरहेको छु । अर्का महामन्त्रीसँग पनि छलफल गरिरहेको छु ।

गगन थापाको हिजोको स्पेस अब पनि कायमै रहन्छ कि अरु कसैले लिनुपर्ने भयो ?

म नयाँ ठाउँमा गइसकेपछि त्यो स्पेस अरुले लिँदा नै सबैलाई सजिलो हुन्छ । त्यो स्पेस अरु कसैले लिइदेओस्, त्यहाँबाट कसैले प्रश्न उठाओस्, जनदबाव सिर्जना गरोस्, जसले म लगायतलाई परिणाम दिन प्रेरित गरोस् । कुरा उठेको छ, तत्काल समाधान दिनुपर्छ है भन्नका लागि पनि त्यो स्पेस अरु कसैले लिइदियोस् भन्ने चाहन्छु ।

हिजो तपाईंले प्रश्न उठाउँदा जवाफ नआउने बढी हुन्थ्यो, अब ?

आज ठाउँ (महामन्त्री पद) मा पुगेको छु, त्यो ठाउँमा मभन्दा अगाडि जिम्मेवारी बोकेर बस्नु भएका नेताहरुको सबल पक्षबाट सिक्छु नै, तर जुन सीमाभित्र बसेर सीमित प्रभावकारिता रह्यो, त्यसलाई पनि बदल्न चाहन्छु । पार्टीको महामन्त्री भएँ, अब केही पनि बोल्न हुन्न, चुप बस्नुपर्छ भन्ने कुरै होइन ।

फरक कति भने हिजो प्रश्न उठाउँदा पुग्ने भूमिका थियो, अब टुंगोमा पुर्‍याउनु पनि पर्छ । जस्तो, सरकारसँग पार्टीको अपेक्षा के–के छन् भनेर लिखित रुपमा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्न दुई महामन्त्रीले काम गरिरहेका छौं ।

कांग्रेसमा तपाईं र अर्का महामन्त्रीको जितका कारण उत्सव जस्तो अवस्था देखियो । त्यो बोध छ ?

एकदमै छ ।

के हो त्यो बोध ?

राज्य सञ्चालनमा असंवेदनशीलता, अयोग्यता, सुस्तता जे–जे देखिए, यी सब दलहरुको चरित्रको प्रतिबिम्ब हो । दलहरुभित्र सुधार भयो भने राजकीय जिम्मेवारीमा बस्नेहरुको व्यवहारमा बदलाव आउँछ, नागरिकले लाभ पाउँछन् । त्यसैले कांग्रेसभित्र सुधार आउँदा खुसी भएको अर्थमा बुझेको छ ।

हामी पार्टीभित्र सीमित रहयौं भने यो उत्साह निराशामा परिणत हुन्छ । पार्टीलाई विधिसम्मत बनाउने विषयमा हामीले ठीक गर्‍यौं, तर नागरिकको जीवनमा फरक ल्याएनौं भने अहिलेको उत्साहको केही अर्थ हुन्न भन्नेमा म सचेत छु ।

कांग्रेसको सभापति पछिको कार्यकारी पद महामन्त्रीमा गगन थापा पुगेको अनुभूति अब हुन्छ त ?

पार्टीभित्र पाएको म्याण्डेटबाट म उत्साहित छु । सँगै दबावमा पनि छु । पार्टी पंक्तिलाई खुशी बनाउन सजिलो छ । यत्रो वर्षदेखि काम गर्दै आएको हुनाले कस्ता कुराले पार्टीका साथीहरुलाई उत्साहित बनाउन सकिन्छ भन्ने थाहा छ । तर तपाईंले सोध्नु भएजस्तै कांग्रेसमा हामी चुनिएर आउँँदा आम मान्छेमा देखिएको उत्साह कायय राख्नु बढी महत्वपूर्ण हो ।

तर सर्वोच्च अदालत लगायतको मुद्दाका सन्दर्भमा तपाईंको पहिलेको गतिमा गेयर घटेको अनुमान गरिँदैछ । यसले त्यो उत्साहलाई निराशामा बदल्दैन ?

गेयर घटाएको होइन भन्ने मेरो दाबी छ । किनकी महामन्त्रीको जिम्मेवारी औपचारिक रुपमा लिएको जम्मा १५–१६ दिन भयो । अदालत, गठबन्धन, संसद्को गतिरोध, सीमा लगायत यो अवधिका जल्दाबल्दा बिषय भए ।

अझ महत्वपूर्ण, कोरोना महामारीमा नागरिकको जीवनरक्षा र यसले अर्थतन्त्रमा पार्ने प्रभाव लगायत विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न थालेका छौं । यसमा केही समय लाग्छ । किनभने नयाँ भूमिकामा आएका छौं, कसरी काम गर्ने भन्नेमा केही अलमल छ ।

पहिलो पटक स्वास्थ्यमन्त्री हुँदा एक–डेढ महिना यस्तै अलमल भएको मलाइ याद छ । देखिने गरी आजै काम शुरु गर्नुपर्ने, प्रमाणित भइहाल्नुपर्ने दबाव त्यो बेला पनि थियो । तर, मैले केही समय लिएँ अनि आलोचना पनि खेपेँ । त्यसबाट कार्य सम्पादनमा सहयोग नै पुग्यो ।

लुकाउने कुरा छैन, अहिले पनि केही समय लिन्छु । म सभापतिले छानेको महामन्त्री हैन, न उहाँ मैले मत हालेको सभापति । र पनि, काम त सभापतिसँगै गर्नुपर्नेछ । सहकार्य, सम्बन्धको कुरा महत्वपूर्ण छ । कतिपय विषयमा मत मिल्दैन, मत नमिलेको अवस्थामा पनि सम्बन्धलाई धेरै टाढा हुन नदिने कसरी होला ? यस्ता थुप्रै कुरामा मैले आफैंलाई तयार पार्नुपर्नेछ । त्यसैले केही समय त लाग्छ, तर म सम्हालिन्छु ।

पदीय संरचनाले पनि थिच्दो रहेछ ?

अँ, थिच्दोरहेछ ।

हिजो प्रतिनिधिसभा विघटन हुँदा न्यायालयको चार किल्लाभित्र न्याय नमरोस् भन्दै सडकबाट आवाज उठाउनुभयो । न्यायपालिकामा आज पनि उही विवाद छ । संविधान र नागरिकमाथि अन्याय कायम रहेजस्तो लाग्दैन ?

एकदमै लाग्छ । नेपालको न्यायालयको आज जुन अवस्था छ, यसमा दलहरु पञ्छिन पाउँदै पाउँदैनन् । अदालतमा अहिले जे भइरहेको छ, यसले संविधान कार्यान्वयन भएर देश सहज रुपमा अगाडि बढ्ने कुरामै फरक पार्छ ।

यो अवस्थामा सरकार चलाइरहेको दलहरुले पन्छिएर त्यहीँ (अदालतभित्रै) मिल भन्न मिल्दैन । कांग्रेसले गठबन्धनका दलहरुसँग सम्वाद गरेर कठोर निर्णय गर्नुपर्छ । शुद्धीकरणका लागि पनि न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ भन्ने मलाई लागेको छ ।

हिजो यही कुरा मेरो पोजिसनबाट राख्दै आएको हो । अब यसलाई कांग्रेसको पोजिसन बनाउनुपर्ने छ । मैले बोलेर मात्रै कांग्रेसको पोजिसन बन्दैन । कि नेतृत्व ‘कन्भिन्स’ हुनपर्‍यो कि त पार्टीभित्र यति ठूलो दबाव सिर्जना गर्नुपर्छ कि त्यसबाट कन्भिन्स होस् । अहिले नेतृत्वसँग कुरा गरिरहेका छौं । यदि नेतृत्वले नमाने कसरी अगाडि बढ्ने भनेर घोत्लिरहेको छु ।

हिजो लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेर उभिने तीन सांसदमध्ये तपाई एक हो । आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउने चुनौती दलहरुलाई होला नि ?

यो विषयमा साथीहरुसँग निरन्तर छलफल भइरहेको छ । हिजो सांसदको वैयक्तिक अधिकार प्रयोग गरेर सार्वजनिक मञ्चहरुमा यो प्रश्न उठाएँ । हामी तीन जना (गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठ) ले अख्तियारका तत्कालीन प्रमुखलाई महाअभियोग लगाउनुपर्छ भनेर निवेदन दियौं ।

संसदमा बहस त भएन । तर हाम्रो निवेदनले राजनीतिक विमर्श सिर्जना गरेको थियो । हिजो मैले त्यो भूमिका खेले पुग्थ्यो, आज प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्छ भन्ने लाग्छ भने पार्टीको पोजिसन बनाउनुपर्छ । पार्टीको पोजिसन बनेन भने के गर्ने ? यस्ता प्रश्नमा घोत्लिरहेको छु ।

जनताका लागि पोजिसन बनाउने कांग्रेस महामन्त्री बन्छ गगन थापा ?

जुन कुरा ब्रम्हले ठीक देख्छ, जनताको पक्षमा छ भन्ने लाग्छ, त्यस्ता विषय वर्षौंदेखि सार्वजनिक मञ्चमा उठाएको छु । पार्टी नेतृत्वमा दबाव सिर्जना गरेको छु । कहिले ६ महिना, कहिले एक वर्ष त कहिले दुई वर्षमा पार्टी त्यो पोजिसनमा पुगेको छ । यस्तो राजनीतिमा म अभ्यस्त भएँ ।

आज (महामन्त्री भएपछि) हिजो जस्तै सडकमा गएर भन्ने, नेतृत्वलाई दबाव सिर्जना गर्ने भन्दा फरक ठाउँमा आइपुगेको छु । गर्ने चाहिँ फेरि त्यही हो, तर गर्ने कसरी भन्ने चाहिँ मेरो लागि पनि नौलो छ ।

कांग्रेसलाई पनि महामन्त्रीले थिचेको होइन, त्यो पद बोकेर हिँड्ने गगन थापा चाहिएको छ, होइन ?

म जेका लागि राजनीतिमा छु, त्यसमै सम्झौता गरेँ भने किन चाहियो गगन थापा ? मेरो ठाउँमा जो भए पनि भयो नि ! त्यसैले मैले महामन्त्रीको जिम्मेवारी पूरा गर्दै पहिला जस्तै जनताको पक्षमा उभिने काम पनि गर्नुछ । कांग्रेसलाई उदार लोकतन्त्रमा विश्वास गर्ने नागरिक पंक्तिको अपेक्षा पूरा गर्ने पार्टी बनाउनुछ ।

७७ वर्षका सभापतिसँग मिलेर त्यो अपेक्षा पूरा गर्नेमा ढुक्क हुनहुन्छ ?

यसअघि पनि प्रतिकुलताहरु चिर्दै आएको हो, अहिले पनि अरु विकल्प छैन । सजिलो पनि छैन । पार्टी सभापतिको अनुभव, बुझाइ र राजनीति गर्ने एक खालको शैली छ । हामी नयाँ आयौं, उहाँका लागि त सभापति पनि पुरानै पद हो । अघिल्लो पटक जस्तै पार्टी सभापति हो उहाँ । उहाँलाई नयाँ केटा आएका छन्, बढी उत्साह होला भन्ने पनि लाग्दो होला । हामी नयाँ ढंगले गर्न चाहने नै भयौं । यो एउटा चुनौती भइहाल्यो ।

अर्को यत्रा साथीहरुले विश्वास गरेर महामन्त्री बनाउनुभएको छ, तर पार्टीमा पुराना नेताहरुको ठूलो पंक्ति छ । कोही केन्द्रीय समितिभित्र र कोही बाहिर हुनुहुन्छ । उहाँहरुलाई सँगै लिएर हिँड्नुपर्छ । मसँग महामन्त्रीय शक्ति छ, मैले भन्दिए हुन्छ भनेर बेवास्ता गरेँ भने मैले चाहेको परिणाम पाउन्न ।

कांग्रेसमा ठूलो पंक्ति यथास्थितिवादी छ । सभापतिलाई त्यही पंक्तिले भनेजस्तो गर्न सजिलो लाग्दो हो । नयाँ महामन्त्रीद्वयमा यो कारण पनि अलमल भएको हो ?

महाधिवेशनको परिणामअनुरुप व्यवहार गर्न सभापतिलाई केही समय लाग्न सक्छ । सभापतिभन्दा बाहिरका नेता गणलाई पनि केही समय लाग्ला । हाम्रा लागि पो यत्रा साथीले विश्वास गरेर जिम्मेवारीमा आयौं भन्ने छ, सभापतिमा त हिजोकै निरन्तरता छ । त्यसले अरु केहीलाई पनि आफ्नो निरन्तरता भन्ने लाग्ने भयो । जिम्मेवारीमा नयाँ केटाहरु आए, तर पार्टी चलाउने हामीले नै हो भन्ने लाग्न सक्छ । यसलाई चिरेर जानुपर्ने छ ।

जिम्मेवारीमा मात्र होइन, कांग्रेसको नयाँ सोच बनाउने ठाउँमा नयाँ मान्छे आएका हो । अब हाम्रो सोचलाई पार्टीको सोच बनाउनुपर्नेछ । हाम्रो सोच पार्टीको सोच नहुने, नेताहरुको हिजोकै समूहको सोच नेताको हुने र हामीले त्यसको कार्यान्वयन मात्र गर्ने हो भने केन्द्रीय सदस्य हुनुभन्दा के फरक भयो र !

महाधिवेशनको निर्वाचन परिणाम मनन्मा नेताहरुलाई समय लागेको छ ?

महाधिवेशन परिणामलाई सभापतिले बुझिदिनुपर्छ भन्ने अपेक्षा हो, बाहिर सुनिए जस्तो असन्तुष्टि होइन ।

किनकी सबैभन्दा बढी अपेक्षा गर्ने ठाउँमा सभापतिलाई उभ्याएको छ । अभूतपूर्व मत पाएर आउनुभएका उहाँका लागि यो अन्तिम इनिङ पनि हो । महाधिवेशनले नयाँ केटाहरुलाई पनि ठूलो जिम्मेवारी दिएर पठाएको छ । यिनीहरुको कुरा सुन्न सभापति तयार भएधेरै सजिलो हुन्छ ।

बाहिरबाट हेर्दा निर्णय प्रक्रियामा हिजोको पात्र–प्रवृत्ति हाबी हुने, निर्णयहरु पनि पार्टीको वक्तव्यमार्फत थाहा हुने, राष्ट्रिय मुद्दाहरुमा हिजो जस्तै हुने जस्तो देखिन्छ नि ?

महाधिवेशनले पार्टी सभापतिलाई राष्ट्रिय राजनीतिमा पार्टी कहाँ उभिने ? पार्टी कसरी चलाउने ? जस्ता विषयमा धारणा बनाउँदा यी मानिस (नयाँ पदाधिकारी) पनि सँगै हुनुपर्छ है भन्ने सन्देश दिएको छ । पार्टीको सोच बन्ने ठाउँमा यिनीहरुलाई पनि राख है भनेको छ ।

हामीलाई पनि तिमीहरुले मात्र पुग्दैन, सभापतिसँग बस्नुपर्छ भनेको हो । त्यसैले त मिश्रित नतिजा आयो । यो सहजतापूर्वक हुन्छ भन्ने थियो, तर भइरहेको छैन । यसलाई धेरै अस्वभाविक पनि मानेको छैन, किनभने भर्खरै त छ ।

हाम्रो अपेक्षा, सभापतिले सबैसँग सहकार्य गर्ने, पार्टीभित्र न्यायको अनुभूति दिलाउने र तत्कालीन राष्ट्रिय राजनीतिमा निर्णायक बन्ने मात्र होइन, महाधिवेशनको म्याण्डेटअनुसार कांग्रेसको अबको बाटो (सोच) मा हिँड्नु हुनेछ भन्ने हो । किनकी विधान बमोजिम महामन्त्री भनेको पार्टीको राजनीतिक कार्यक्रमको प्रस्तावक हो । दुबै महामन्त्री बिल्कुलै फरक ठाउँबाट आएका छौं ।

हामी कांग्रेसले सोंच्ने सोंचमा सभापतिको अंग हुन चाहन्छौं । कहिलेकाहीँ उहाँले हामीलाई प्रभावित बनाउनु होला, कहिले हामी उहाँलाई प्रभावित बनाउछौं । तर अहिलेसम्म हामी त्यसभित्र पस्न पाइसकेका छैनौं । यसमा केही समय लाग्ला ।

हिजो जसरी निर्णय हुन्थ्यो, त्यो शैली स्वीकार्नु हुन्न ?

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा कांग्रेस जसरी उभिँदै आएको छ, यो बदल्ने संकल्प गरेर हामी अनुमोदित भएका हौं । यथास्थितिमा आफू रम्ने र अरुलाई रम्न दिने सुविधा हामीलाई छैन ।

तपाईंकै भाषामा, मत मिले सहकार्य नमिले संघर्ष ?

पार्टीभित्र त्यस्तो ध्रुवीकरण र संघर्षको स्थिति नआओस् भन्ने कल्पना गर्छु । त्यो स्थिति नआओस् भन्नका निम्ति काम पनि गर्छु । मेरो र पार्टीका सबै साथीको चाहना मुख्य नेतृत्वसँग हार्दिकता र सहकार्य होस् भन्ने नै हो ।

सामूहिक नेतृत्वप्रति धेरै ठूलो अपेक्षा छ । सामूहिक नेतृत्व भनेको बाँडफाँट होइन, पार्टीले के सोच्छ, त्यसमा सबैको श्रेय होस् भन्ने हो । सम्वादबाट पार्टी कहाँ उभिने भन्ने तय होस्, हामी सबैले अपनत्व लिन सकियोस् भन्ने हो । पार्टीको निर्णय एकतातिर, हामी अर्कोतिर हुने अवस्था नआओस् भन्ने सबै साथीको चाहना छ । त्यहीअनुसार अन्तिम विन्दुसम्म सहकार्य नै गर्ने हो । शुरुवात छ, निराश वा नकारात्मक हुन पनि चाहन्न ।

केन्द्रीय सदस्य मनोनयनदेखि राष्ट्रियसभा चुनावको उम्मेद्वार तय गर्दासम्मका गतिविधिले कांग्रेसभित्र संघर्ष शुरु भएसकेको संकेत गर्दैन ?

हामीले समूह नै बनाएर महाधिवेशनमा प्रतिस्पर्धा गर्‍यौं । निर्वाचित भएका हामी केही साथीबीच उम्मेदवार भएका सबै एक ठाउँमा बसेर समिक्षा गरौं भनेर सल्लाह भयो । त्यो बेलासम्म राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन र केन्द्रीय सदस्य मनोनित भइसक्ने पूर्वानुमान थिएन । हाम्रो बैठक अलि अगाडि भएको भए वा केन्द्रीय मनोनयन र राष्ट्रियसभाको उम्मेदवार चयन नभएको भए महाधिवेशनकै समीक्षा हुन्थ्यो होला । तर मनोनीत र उम्मेदवार चयन भएकाले केही छलफलका विषय बने ।

म अहिले पनि कसरी सोंच्छु भने सभापति सिंगो पार्टीको नेतृत्व गरेर कांग्रेसलाई नयाँ ठाउँमा लैजाने म्यान्डेटसहितको अवसर लिएर आउनुभएको छ । त्यसको समुचित प्रयोग होस् । सभापतिसँग हाम्रो यो अपेक्षा हो । हामीलाई भाग चाहिएन, तर सँगै लिएर जानुहोस् । सँगै काम गर्न चाहन्छौं । आगामी दिनहरुमा सँगै हिँडाउनुहोस् भनेर भनिरहेका छौं । त्यो अवस्था बन्छ भन्ने नै छ ।

सर्वोच्च अदालतको संकट, गठबन्धनप्रतिको धारणा जस्ता बिषयमा फरक दृष्टिकोण देखिन थालिसक्यो त ?

५ पुस २०७७ को प्रतिनिधिसभा विघटनलगत्तै कांग्रेसभित्र निर्वाचनमा जाने कि विघटन असंवैधानिक भनेर लड्ने भन्ने दुई खाले धारणा थियो । मेरो लागि त्यो नयाँ अनुभव होइन, राष्ट्रिय राजनीतिबारे पार्टीभित्र फरक मत भएको दर्जनौं मध्ये एक थियो । नेपाली कांग्रेसको सवल पक्ष पनि त्यही हो भन्ने लाग्छ ।

तर यस्ता कुराको व्यवस्थापन हुन नसक्दा पार्टीले दुर्घटना पनि बेहोरेको छ । त्यो सबैबाट सिक्नुपर्छ । पार्टीमा फरक मतलाई सहज रुपमा प्रकट हुन दिनुपर्छ । तर छलफलबाट एउटा निचोड निकालेर जाँदा त्यसमा सबैको अपनत्व रहन्छ । नत्र दुर्घटना हुन्छ । यसमा नेतृत्व सचेत रहनुपर्छ ।