आकाशमै ‘डोर अनलक’ भएपछि पोखरा उडेको गुणको विमान काठमाडौं फिर्ता सुरक्षित अवतरणपछि

काठमाडौँ — काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।

गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको यात्रु चढ्ने ढोका पूर्ण रुपमा बन्द नभएको देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो ।

उनले भने‚ ‘पोखरा उडेको जहाज चार/पाँच मिनेटमै डोर अनलकको इन्डिकेटर पाइलटले देखेपछि फर्काइएको थियो ।’

थापाका अनुसार यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा त्यसमा प्राविधिक समस्या नदेखिएको उनले दाबी गरे ।